चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलद्वारा एसएलसी उत्तीर्ण विद्यार्थी सम्मानीत

सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले सिरुटार गाविसभित्र स्थायी बसोबास गरी २०६५ सालको एसएलसी परीक्षामा उत्तीर्ण भएका भाइबहिनीहरूलाई सम्मान गर्यो ।
वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रमुख आतिथ्यमा स्थानीय सिरुटार गाविस भवनमा आयोजित एसएलसी सम्मान कार्यक्रममा स्थानीय ५० जना विद्यार्थीहरूलाई शुभकामना एवम् बधाई ज्ञापन गर्दै सम्मानपत्र, मायाको चिनो र उत्कृष्ट तीन विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार सहित सम्मान गर्नु भयो । ८८.३८ प्रतिशत ल्याउने संजीव राजथला सिरुटार गाविसका उत्कृष्ट विद्यार्थी घोषित भए भने ८६.६३ प्रतिशत ल्याउने अलिशा मिश्र छात्रातर्फको उत्कृष्ट विद्यार्थी घोषित भएकी थिइन । ८६ प्रतिशत ल्याउने सल्मा राउत सहित ६ जनाले विशिष्ट श्रेणी, ३९ जनाले प्रथम श्रेणी र ५ जनाले दोस्रो श्रेणी प्राप्त उत्तीर्ण भएका थिए ।
समाजका अध्यक्ष लक्ष्मणराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिरुटार इङ्गलिस स्कूलका स-साना नानीहरूबाट राष्ट्रिय गानबाट शुभारम्भ भएको थियो । समाजका सल्लाहकार विष्णुकाजी थापाले समाजको साधारण परिचय र स्वागत मन्तव्य दिएका थिए । स्नातकतह पास गरेका युवाहरूलाई समेटेर २०५२ सालमा स्थापित उक्त समाजिक संस्थाले २०५४ सालदेखि एसएलसी उत्तीर्ण भाइबहिनीहरूलाई सम्मान गर्दै आएको जानकारी गराउनु भएको थियो । विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै उत्कृष्ट छात्रा अलिशा मिश्रले एसएलसी पास गरेर खुसी हुने कुरो त छँदैछ, त्यो भन्दा पनि अझ बढी गहन भएर शिक्षा आर्जन गर्न लागि पर्नुका साथै मुलुक र समाजप्रति जिम्मेवारी र दायित्व बढेको जनाउँदै त्यसका लागि हामी मरिमेटेर अगाडि बढ्नु छ भन्दै सबै साथीहरुलाई आफ्ना दायित्व प्रति सजक गराएकी थिइन । विद्यालयहरूको प्रतिनिधित्व गर्दै माउन्टभ्यू बोर्डिङ्ग स्कुल, बालकोटका प्रिन्सिपल राजकुमार महर्जनले एसएलसी मात्र ठूलो कुरो हैन अझ तपाईहरू अध्ययन गर्नुपर्ने क्षेत्र धेरै छने र अध्ययनको लागि विदेशिनु राम्रो पनि हैन, भन्दै हाम्रै मुलुकमा विदेशी विद्यार्थी ल्याउने वातावरण सिर्जना गर्नु पर्ने कुरामा जोड दिँदै विद्यार्थी भाइबहिनीहरूलाई बधाई ज्ञापन गरेका थिए । स्थानीय सिरुटार मा.वि.का प्रधानाध्यापक नारायण पोखरेलले विद्यार्थीहरूलाई बधाई सन्देश दिँदै अध्ययनलाई अझ निरन्तरता दिएर समाजको ठूलो मान्छे हैन असल व्यक्तिको रूपमा आफूलाई चिनाउन सुझाव दिँदै बधाई दिएका थिए ।
प्रमुख अतिथि गजुरेलले सम्मानीत भाइबहिनीहरूलाई बधाई सन्देश दिँदै प्राविधिक शिक्षालाई जोड दिन सुझाव समेत दिएका थिए । आफ्नो मातृभूमि र मातृभाषालाई सधैँ माया गर्न सुझाव दिएका थिए । साथै विद्यार्थी भाइबहिनीहरू एसएलसी उत्तीर्ण को नजिता प्रकाशन हुनासाथ विद्यार्थी हैन पैसा तान्न मरिमेट्ने शिक्षाको नाउँमा व्यापारको दोकान थापेर प्रचारमा लागेकाहरूसँग जोगिन अभिभावक तथा विद्यार्थीहरूलाई सजक गराउँदै सही संस्था छनौंट गर्न सुझाव दिएका थिए । अन्तमा, गजुरेलले नयाँ नेपालको परिकल्पनाको हास्यव्यङ्ग्य प्यारोडी कविता "हिमाल पहाड हेर्न पाउँ चढी केवल कार, नयाँ नेपाल यस्तो बनाउँ लाग्छ बारम्बार ........ बाचन गरेर सबैको ताली र वाह वाह बटुलेका थिए ।
अन्तमा सभापतित्व गरिरहनु भएका समाजका अध्यक्ष लक्ष्मणराज विष्टले हास्यव्यङ्ग्य कलाकारहरूको महानचाड गाईजात्रा महोत्सवको व्यस्तताको वावजुद समय दिएर सिरुटारबासी एसएलसी उत्तीर्ण भाइबहिनीहरूलाई सम्मान गर्न समय दिनु भएको हार्दिक कृतज्ञता व्यक्त गर्नु हुँदै मायाको चिनो प्रदान गर्नु भई सभा विर्सजन गरेको थिए ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न