शुभकामना तथा सम्मान कार्यक्रम

आज मिति २०६६ आश्विन ३१ गते, सिरु बौद्धिक समाज, सिरुटार, भक्तपुरले "नेपाल छात्रा विद्यापदक" बाट सम्मानित छात्रा सृष्टि के.सीलाई सम्मान एवं शुभ-दिपावली २०६६ र नेपाल सम्बत ११३० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्‍यो ।
नेपाल अन्धा कल्याण संघका महासचिव समेत रहनु भएका दृष्टिविहीन उप-प्रध्यापक कुमार थापाको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष लक्ष्मणराज बिष्टको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अर्न्तर्गत वि.सं.२०६५ सालको प्रविणता प्रमाणपत्र तहमा सर्वोकृष्ट छात्रा भई "नेपाल छात्रा विद्यापदक"बाट सम्मानीत भएकी स्थानीय सिरुटार निवासी छात्रा सृष्टि के.सी.लाई भौतिक रुपमा दृष्टिविहीन भएता पनि ज्ञान र शैक्षिक क्षमताबाट आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै सिरुटार गाविस सहित मुलुककै गरिमा बढाउने कार्य गर्नु भएको भन्दै सिरु बौद्धिक समाजले सम्मान गरेको थियो । प्रमुख अतिथि उपप्रध्यापक थापाले सिरु बौद्धिक समाजको तर्फबाट सृष्टि केसीलाई सम्मान-पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने समाजका अध्यक्ष लक्ष्मणराज विष्टले समाजको आजीवन सदस्यता समेत प्रदान गर्नु भएको थियो ।
समाजका सह-सचिव रमण कायस्थबाट संचालित कार्यक्रममा समाजका सचिव सनोदकुमार थापाले स्वागत मन्तव्य र सल्लाहकार विष्णुकाजी थापाले समाजको तर्फबाट सम्मानीत सृष्टि के.सीलाई बधाई ज्ञापन गर्नु भएको थियो । प्रमुख अतिथि थापाले आफ्नो मन्तव्य राख्दै समाजमा अपाङ्गहरुलाई माया हैन प्रेरणा र सहयोगको खाँचो औल्याउँदै उनीहरुलाई अवसर प्रदान गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । समाजमा उनीहरुलाई सवलाङ्ग सरह व्यवहार गर्नु पर्ने बताउँदै आफू पनि अपाङ्ग भएर समेत प्रध्यापन पेशा अङ्गाल्दै विभिन्न सामाजिक संघ संस्थाहरुमा कार्य गर्दै समाज सेवामा लगेको खुलासा गर्नु भयो । सृष्टि केसीलाई नजिकबाट नियाल्नु भएका प्रध्यापक थापाले उनको शैक्षिक क्षमताको अलावा एक कुशल नृत्यङ्ना समेत भएको खुलाशा गर्दै उनको क्षमताको कदर गर्दै उज्ज्वल भविष्यको कामना गर्नु भएको थियो ।
सम्मानीत व्यक्तित्व सृष्टि केसीले आफ्नो छोटो मन्तव्य व्यक्त गर्दै आफू कक्षा ८ मा अध्यनको सिलसिलामा आँखामा देखापरेको समस्याबाट दृष्टिविहीन हुन पुगेको खुलासा गर्दै दृष्टिविहीन बन्न पुगेपछि निरास नहुन विद्यालयका शिक्षक/शिक्षिका एवं परिवारको प्रेरणाबाट आफू उत्साहित भई आफूलाई अपाङ्गको रुपमा खुम्च्याएर नराखी केही गरेर देखाउन अध्ययनलाई निरन्तरता दिएको बताउँदै सबैको प्रेरणाले सर्वोकृष्ट छात्रा बन्न पुगेको बताएकी थिइन । साथै आफूलाई सम्मान गरेकोमा सिरु बौद्धिक समाजलाई धन्यवाद व्यक्त गरेकी थिइन । वक्ताको रुपमा सृष्टिका अभिवावक राजेशमान केसीले सृष्टिको मेहनत र उनको सहास नै उनको सफलता रहेको बताउँदै त्यसको लागि परिवारले वातावरण बनाउन मात्र सहयोग पुर्‍याएको खुलासा गर्नु भएको थियो । साथै कार्यक्रममा उपस्थित स्थानीय सामाजिक संस्थाका पदाधिकारी, सामाजिक व्यक्तित्वहरुबाट छात्रा सृष्टि केसीलाई बधाई दिनुको साथै शुभ दीपावली २०६६ एवं नेपाल सम्बत ११३० को शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
समाजका अध्यक्ष लक्ष्मणराज विष्टले प्रमुख अतिथि उपप्रध्यापक कुमार थापालाई समाजको तर्फबाट मायाको चिनो प्रदान गर्दै सभा विर्सजन गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

अठारौं साधारणसभाबाट बौद्धिक समाजमा बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति

उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदान–प्रदान तथा जीवन-यात्रा पुस्तक विमोचन सम्पन्न